‘उपन्यासलाई नाटकमा उतार्न गाह्रो भयो’

जनकपुरमा रहँदा रेडियो नाटक गर्दागर्दै मैथिली नाट्यकर्मी रविन्द्र झाको सहयोगमा सरिता साह रंगमञ्चमा प्रवेश गरेकी हुन्। नाटककै लागि २०६९ मा काठमाडौँ आएकी उनले शिल्पी थिएटरको नाटकघर बनाउँदा इँटा बोक्दै त्यहीँ अभिनय पनि सिकेकी हुन्। शिल्पीमै उनले धेरै वटा नाटक गरिन् र अभिनय कुशलताका कारण थुप्रै प्रशंसा पनि पाइन्। शिल्पीको गोठाले नाटकघरमा मञ्चन गरिएको कुमार नगरकोटी लिखित ‘कोमा’ को अभिनय उनको पहिलो रंगमञ्चीय अभ्यास हो। त्यसपछि फ्रान्सेली नाटककार मोलियरको नाटक ‘तार्तुफ’को नेपाली अनुवाद ‘तार्तुफ उर्फ झलेन्द्रप्रसादको लीला’ मा डिम्पलको भूमिकामा उनलाई सबैभन्दा धेरै रूचाइयो। यसबीच धेरै प्रकारका नाटक गरिसकेकी सरिता अहिले नाटक निर्देशनमा उत्रिएकी छन्। उनी निर्देशित नाटक ‘लू’ अहिले अनामनगरस्थित मण्डला थिएटरमा चैत २० गतेसम्म मञ्चन भइरहेको छ। नयनराज पाण्डेको चर्चित उपन्यासलाई उनले नाटकमा ढालेकी हुन्। उनीसँग अभिनय, निर्देशन र नेपाली रंगमञ्चबारे गरिएको सात सवाल :

‘लू’ मञ्चनको योजना कसरी बन्यो?

झण्डै डेढ वर्षअगाडि मैले लू पढेको थिएँ। पहिलोपटक किताब पढेर म रोएको थिएँ। सबै कुरा नमिले पनि तराईको परिवेशका धेरैजसो कुरा आफ्नो जीवनसँग पनि मेल खान्थ्यो। नाटकमा काम गरिरहेको भएर कसैले यसलाई नाटक बनाए हुन्थ्यो भन्ने लागिरह्यो। तर, सबैले यो किताब धेरै भारी छ सकिँदैन भन्ने कुरा गरे। केही समयपछि आफै गर्छु भनेर उपन्यासका लेखकसँग स्त्रि्कप्ट लेखिदिन अनुरोध गरेँ। उहाँले आफू नभ्याउने, बरु मलाई नै लेख्न भन्नुभयो। मैले स्त्रि्कप्ट लेखेँ। त्यसपछि लेखक पाण्डेलगायत अरुलाई पनि देखाउँदै पुनर्लेखन गर्दै नाटक तयार पारेँ। अबचाहिँ मञ्चनका लागि तयार भयो भन्ने भएपछि ताण्डव थिएटरले निर्माणको जिम्मा लिने भयो अनिमात्र यसको मञ्चन समभव भएको हो।

उपन्यासलाई नाटकमा ढाल्दा अप्ठ्यारो भएन?

एक त ‘लू’ आफैमा धेरै चर्चित किताब हो। उपन्यासभित्रका कथाहरू सबै उत्तिकै महŒवका छन्। पात्रहरू पनि सबै उत्तिकै महŒवपूर्ण छन्। नाटकले एकएक पात्र र घटना समेट्न नसक्ने भएकोले के राख्ने के नराख्ने भन्ने निर्णय गर्न सबैभन्दा गाह्रो भयो। सबै घटना र पात्रका कथालाई समेटेर अर्थपूर्ण बनाउनु साह्रै नै गाह्रो काम रहेछ। धेरैभन्दा धेरै काम स्त्रि्कप्टमा गर्नुपर्ने भयो। स्त्रि्कप्ट तयार भइसकेपछि मञ्चन त खासै अरु नाटकजस्तै नै हो।

नाटक हेरेपछि ‘लू’ उपन्यासका लेखकको प्रतिक्रिया कस्तो आयो?

उहाँले तीन वटा कमेन्ट गर्नुभयो। एउटा, कमेडी धेरै भयो भन्नुभयो। दोस्रो, राजनीतिक विषयवस्तुचाहिँ अलि छायाँमा पर्‍यो भन्नुभयो। अर्काेचाहिँ भल्गारिटी भयो कि भन्ने प्रतिक्रिया दिनुभयो। धेरै गह्रौँखालका राजनीतिक कुरा समावेश भए दर्शकले मन नपराउलान् कि भन्ने शंका पनि थियो। यति हुँदाहुँदै पनि हामीले उपन्यासका तीनवटा कुराचाहिँ समावेश गरेका छौँ– नेपालको सीमा मिच्ने काम, इलैयाको प्रेम र तराईको गरिबीको भयानक चित्र।

उपन्यासका कति कथाचाहिँ नाटकमा नबुझिने र धमिला आए भन्ने पनि सुनियो नि?

किताब पढेर गएका दर्शकले नाटकलाई एक तरिकाको होला भन्ने सोचेर आउँदा रहेछन्। लू नपढेकाले अर्कै हिसाबले सोचेर आउँदा रहेछन्। उपन्यास पढ्दा कल्पना गरिएजस्तो कति कुरा मञ्चमा दिन पनि सकिन्न। त्यही कारण यस्तो प्रतिक्रिया आएको हुन सक्छ।

दर्शकबाट कस्ता प्रतिक्रिया पाइरहनु भएको छ?

दर्शकको प्रतिक्रियाचाहिँ मिश्रितखालका छन्। बौद्धिकस्तरका दर्शकबाट आएका प्रतिक्रियामा बौद्धिक र राजनीतिक विषय छुट्यो भन्ने सुनेको छु। केहीले चाहिँ पहिलो प्रयास हो, राम्रो गरेछौ भनेर मलाई हौसला पनि दिनु भएको छ।

सम्झन लायकको प्रतिक्रिया केही पाउनुभयो?

सीमा मिचाइ र अत्याचार सहन नसकेर गाउँलेले भारतीय प्रहरीलाई कुटेको दृश्यमा दर्शकहरू जोशमा आएर ताली पिट्छन्। त्यतिबेला चाहिँ अद्भूतखालको रोमाञ्चकता अनुभव गर्छु। खास थिएटरको नियमअनुसार नाटकको बीचमा ताली बजाउन मिल्दैन। यद्यपि, दर्शकको मनोभाव न हो त्यसलाई रोक्न सकिन्न। त्यसरी ताली बजाएको सुन्दा भने हामीले देखाउन खोजेको कुरामा सफल भएछौँ भन्ने अनुभव हुन्छ।

फेरि अर्काे नाटक लिएर कहिले आउनु हुन्छ?

अहिले तत्कालै निर्देशन गर्ने योजना बनाइसकेको छैन। अरुकै निर्देशनमा अभिनयचाहिँ गरिरहेको छु। हडबडीमा काम गरिहाल्ने बानी मेरो छैन। निर्देशन नै गरे पनि अलि समयपछि अझ तयारी गरेर गर्नेछु।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...