Logo

दुई सुन्दरीकोे राजनीतिक इनिङ, राप्रपामा असन्तुष्टि


काठमाडौं । नायिका रेखा थापाको राजनीतिक इनिङ सुरु भएको छ । कुनै ठाउँमा  स्थिर रहन नसक्ने कलाकारको छवि बनाएकी रेखा राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । हालै सम्पन्न राप्रपाको एकता महाधिवेशनमा उनले महिलातर्फ दोस्रो सबैभन्दा धेरै मत ल्याइन् । पहिलो स्थानमा भने कुन्ती शाही निर्वाचित भइन् । यस्तै, गायिका कोमल वली खुलातर्फ तेस्रो सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएपछि राप्रपामा भुइँचालो नै गएको छ । केही समयअघि मात्र राप्रपामा प्रवेश गरेका कोमल र रेखाको उदयसँगै पूर्वपञ्चहरूको पार्टी राप्रपामा असन्तुष्टि सुरु भएको छ ।
कोमल र रेखालाई पार्टीमा भित्र्याएसँगै केन्द्रीय सदस्य अञ्जना शाह रावलले राप्रपा नै त्यागिन् । उनले राप्रपा मात्र होइन, राजनीतिबाटै सन्यास लिएको घोषणा गरिन् । राप्रपा एकता महाधिवेशनपछि कोमल र रेखा पार्टीको नेतृत्वमा आएपछि राप्रपा महिला संघकी केन्द्रीय सदस्य सरस्वति केसी अधिकारीले असन्तुष्टि जनाएकी छन् । उनले शुक्रबार आफ्नो फेसबुकमा एकता महाधिवेशनबाट बल्ल आफ्नो राजनीति सुरु भएको उल्लेख गर्दै राप्रपामा पुराना कार्यकर्तालाई पन्छाउने प्रवृत्ति पुरानै भएको उल्लेख गरेकी छन् । उनले आफूलाई केन्द्रीय सदस्य पदमा हराइएको गुनासो गर्दै महिला संघमार्फत पार्टी राजनीतिमा क्रियाशील हुने अठोट व्यक्ति गरेकी छन् ।
पार्टी नेतृत्वले कोमल, रेखा, मिरा राणालगायतका कलाकारलाई च्यापेकै कारण आफूहरू पराजित हुनुपरेको उनको गुनासो छ । राप्रपामा कमल थापा निकट अधिकांशले जितेका छन् । कोमल, रेखा थापा, मिरा राणा, कुन्ती शाहीलगायतका महिला नेतृ कमल थापा निकट हुन् । कुन्तीलाई त थापाले आफू उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री हुँदा आफ्नो राज्यमन्त्री बनाएका थिए ।
त्यति मात्र होइन, राप्रपाको महाधिवेशन सकिएको भोलिपल्टै बसेको केन्द्रीय समितिको बैठकले चलचित्रकर्मी उद्धव पौड्याललाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । उनी राप्रपा अध्यक्ष कमल थापाका अति निकट मानिन्छन् । उद्धव गोपीकृष्ण हल मालिक, चलचित्र निर्माता तथा वितरक र ओम हस्पिटलका अध्यक्ष पनि हुन् । गत संविधानसभा निर्वाचनमा राप्रपा नेपालले उद्धवलाई काठमाडौं ४ बाट प्रत्यक्षमा उम्मेदवार उठाएको थियो । उनले चार हजार मत ल्याएका थिए । विराटनगरमा वामपन्थी राजनीति गरेका उद्धव अहिले राजतन्त्रका कट्टर समर्थक बनेका छन् ।

के रेखा राप्रपामा टिक्लिन् ?
केन्द्रीय सदस्यमा निर्वाचित भएपछि राप्रपामा मात्र होइन, अहिले सिने क्षेत्रमा समेत रेखा थापा पार्टी राजनीतिमा टिक्लिन् त ? भन्ने चर्चा परिचर्चा हुन थालेको छ । विगतका आधारमा मानिसहरूले यस्तो विश्लेषण गर्न थालेका हुन् । किनभने रेखाको विगत स्थिर छैन । सिनेमा क्षेत्रमा लागेको केही समयपछि नै रेखा नेपाली कांग्रेसको शुभेच्छुक भ्रातृसंस्था नेपाल सांस्कृतिक संघमा आबद्ध भइन् । केही समयपछि उनी सांस्कृतिक संघको कार्यालयमा समेत आउनै छाडिन् । त्यसपछि उनी माओवादीतर्फ आकर्षित हुन थालिन् । तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भद्रकालीस्थित सडकमा नाचेर चर्चामा आएकी रेखा केही समयपछि नै माओवादी पार्टीमा प्रवेश गरिन् ।

कांग्रेस, माओवादी हुँदै राप्रपामा रेखा
माओवादी नै यो देशको परिवर्तन गर्ने मुख्य शक्ति भएको अभिव्यक्ति दिन थालिन् । कतिसम्म भने दोस्रो संविधानसभा निर्वाचनका बेला माओवादीले रेखा थापालाई उम्मेदवार बनाउने बताएको थियो । तर, रेखाको मतदाता सूचीमा नामै नभएपछि माओवादीले उनलाई टिकट दिएन । त्यसको केही समयपछि रेखाले माओवादीसँग सम्बन्ध विच्छेद गरिन् । उनले माओवादी भएसम्म देश विकास हुन नसक्ने भन्दै हिँड्न थालिन् । यसबेलासम्म रेखाको चलचित्र करियर तीव्र रूपमा ओरालो लागिसकेको छ । उनले अभिनय गरेका चलचित्र चल्न छाडेका छन् । यही समयमा उनको भेट गायिका कोमल वलीसँग भयो ।
कोमलले रेखालाई राप्रपामा प्रवेश गर्न प्रेरित गरिन् । त्यसअघि दुवैजना एक महिला ज्योतिषी सविता शर्मा आचार्यकहाँ पुगेका थिए । आचार्यले दुवैलाई पार्टी राजनीति गर्न सल्लाह दिँदै भविष्यमा कोमल र रेखा मन्त्री बन्ने भविष्यवाणी गरेको बताइन्छ । सोही कारण उमेर ढल्कँदै गएपछि रेखा र कोमल राप्रपाबाट राजनीतिमा होमिएको उनी निकट कलाकारहरूको भनाइ छ । राप्रपाले आगामी निर्वाचनमा कोमललाई दाङ र रेखालाई मोरङबाट चुनाव लडाउने भएको छ । त्यसका लागि आफूले तयारी सुरु गरिसकेको रेखाले निकटहरूलाई बताउने गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्