Logo

धमाधम आफ्नै नाममा युट्युब च्यानल खोल्दै नेपाली कलाकार


काठमाडौं । पछिल्लो समय नेपाली संगीत र चलचित्र युट्युबमा लोकप्रिय हुँदै गएको छ । कतिसम्म भने आफ्नो नयाँ चलचित्रका गीत र प्रोमोसमेत हिजोआज युट्युबमार्फत रिलिज गर्ने क्रम बढेको छ । सामान्य नेपालीको पहुँचमा मोबाइल फोन र इन्टरनेट सेवा पुगेकाले पनि पछिल्लो समय सबैको ध्यान युट्युबतर्फ आकर्षित हुन पुगेको हो । कतिसम्म भने युट्युबकै आधारमा आफ्ना गीत संगीत कति लोकप्रिय भए, दर्शक स्रोताले रुचाएका छन् कि छैनन् भन्ने मापदण्ड यसलाई लिने गरिएको छ । अझ चलचित्रको प्रोमो र गीत त हिजोआज युट्युबमा कतिपटक हेरियो, त्यसलाई आधार मानेर वितरक र हलवालाले पैसा हाल्ने गरेका छन् ।
नाइँ नभन्नू ल, वडा नम्बर छ, छक्का पञ्जा, लूट २, पुरानो डुंगा जस्ता चलचित्रका गीत अहिले पनि युट्युबमा लोकप्रिय हुँदै गएको छ । त्यही भएर अहिले टेलिभिजन र रेडियो एफएममा चलचित्रका गीत र प्रोमो प्रसारण गर्नुभन्दा युट्युबमा राख्न निर्माता संगीतकारहरू इच्छुक देखिएका छन् ।
अहिले गायक हेमन्त रानाले गाएको सुन साइँली…बोलको गीत युट्युबमा निकै लोकप्रिय बन्दै गएको छ । युट्युबमा राखेको पाँच दिनमै कालीप्रसाद बासकोटाले संगीत भरेको यो गीतलाई ३३ लाखभन्दा बढी पटक हेरिसकिएको छ । हेमन्तले आफ्ना साथीभाइसँग मिलेर जीएस संस्था खोलेर युट्युब च्यानल खोलेका छन् । जसले एक सातामै करिब ४० हजार ग्राहक पाइसकेको छ ।
यसरी एउटा गीत युट्युबमा राख्दा लाखौं पटक हेरिने र आफ्नो नाममा संस्था खोलेर राखेमा पैसा पनि मनग्गे कमाइने भएकाले पनि पछिल्लो समय नाम चलेका कलाकारले आफ्नै नाममा वा संस्थाको युट्युब च्यानल खोल्ने गरेका छन् । यसरी आफ्नै नाममा युट्युब च्यानल खोल्नेमा गायक निमा रुम्बा, अञ्जु पन्त, हेमन्त शर्मा, सुनिता दुलाललगायतका कलाकार छन् ।
हालै गायक हेमन्त शर्माले आफ्नो नाममा युट्युब च्यानल खोलेका छन् । त्यसका लागि आफूले निकै दुःख पाएको गायक शर्माको भनाइ छ । युट्युबमा आफ्नै नाममा संस्था खोलेर त्यसबाट गीत रिलिज गर्न खोज्दा आफूलाई धेरैले दुःख दिएको शर्माले बताएका छन् । कोही त आफ्नो युट्युब च्यानल बिगार्न लागिपरेको उनले उल्लेख गरेका छन् । तर जसले जति दुःख वा रोकावट गर्न खोजे पनि आफू सफल भएर छाडेको शर्माले बताए ।
अहिले युट्युब च्यानल खोल्ने चक्करमा छन् हास्यकलाकार जितु नेपाल । केही दिनअघि उनले आफ्नो फेसबुकमा स्वदेश वा विदेशमा विभिन्न ठाउँमा आफूहरूले गरेको देखाएको कार्यक्रम विभिन्न व्यक्तिले युट्युबमा राखिदिँदा आफूहरूको लोकप्रियता घट्दै गएको र आयोजकले समेत त्यति महत्व नदिने गरेको भन्दै उनले आइन्दा आफूहरूले देखाएको कार्यक्रम युट्युबमा राखे साइबर क्राइमअन्तर्गत त्यस्ता व्यक्तिविरुद्ध प्रहरीमा उजुरी दिने चेतावनी दिएका छन् । उनले अबदेखि आफूले स्वदेश वा विदेशमा देखाएका कार्यक्रम आफ्नै नामको संस्थामार्फत युट्युबमा अपलोड गर्ने जानकारी दिएका छन् ।
तर, आफ्ना कार्यक्रम यसअघि युट्युबमा राख्नेहरूविरुद्ध प्रहरीमा उजुरी हाल्ने कलाकार नेपालको चेतावनीलाई लिएर अहिलेदेखि नै उनको निकै आलोचना हुन थालेको छ । धेरैले अबदेखि हास्यकलाकार जितु नेपाललाई कार्यक्रममा आमन्त्रण नगर्ने, उनको प्रचार प्रसारसमेत नगर्ने बताउन थालेका छन् ।

के लेखेका थिए जितु नेपालले ?
अरूको कार्यक्रम अनुमतिबिना खिचेर हाल्ने, अनि आफू चाहिँ च्यानलको अगाडि नै ‘यो च्यानलका सामग्रीहरू यदि कसैले सेयर गरेमा, डाउनलोड गरेमा कपी गरेमा, कपिराइट नियमअनुसार कानुनी कारबाही हुनेछ’ भन्ने ? यो कहाँसम्मको नैतिकता हो ? युट्युबबाट मैले आजसम्म एक रुपैयाँ लिएको पनि छैन र लिने लोभ पनि छैन, तसर्थ मलाई सोधेर राख्न चाहनेलाई मसँग भएका भिडियोहरू निःशुल्क दिन तयार छु । बिरूवा रोप्ने, गोडमेल गर्ने, मलजल गर्ने र फूल फुलाउने एउटा । अनि अर्कोले फुत्त फूल उखलेर आफ्नो नर्सरीमा राखेर बेच्दा चित्त दुख्दैन..? मेरो गुनासो यत्ति हो । म मेरा आदरणीय, दर्शकहरूप्रति नतमस्तक छु, हजुरहरू कसैले पनि यस कुरालाई अन्यथा नलिनु होला । र, सबै युट्युब च्यानलवालाहरूले पनि मेरो मात्रै हैन अरू कलाकारहरूको पनि सामग्री राख्दा अनुमति लिनुहोला ।

युट्युब च्यानल खोलेपछिको बेफाइदा
नाम चलेका गायक गायिकाले आफ्ना सिर्जनाहरू सिधै आफ्नो नामको युट्युब च्यानलबाट रिलिज गर्ने गरेका छन् । यसो गर्नेमा पुरानाभन्दा पनि नयाँ नयाँ पपगायक, ¥यापरहरू बढी छन् । केही लोकसंगीत क्षेत्रमा लागेका स्रष्टाले पनि आफ्नै नाममा युट्युब च्यानल खोलेका छन् । कति त नामै नसुनिएका नेपाली गायक गायिकाले युट्युब च्यानल खोलेका छन्, जुन युट्युब खोलेपछि मात्र थाहा हुन्छ । धेरैले नाम नसुनेका गायक गायिकाका गीतहरू युट्युबमा धेरै पटक हेरिने गरेका छन् ।
कुनै समय पपगायक निमा रुम्बा निकै चर्चित थिए । उनका नयाँ गीत रेडियो र टिभीमा निकै लोकप्रिय हुने गरेका थिए । धेरै हप्तासम्म काउन्ट डाउनमा रहन्थे । तर, पछिल्लो समय निमा रुम्बा यस्तो चमक धमकबाट हराएका छन् । उनका गीत नसुनेको दर्शक स्रोताले धेरै भइसक्यो । उनले आफ्नो नाममा युट्युब च्यानल खोलेका छन् । सोही च्यानलबाट उनले गीत रिलिज गर्ने गरेका छन् । जसका कारण अरु एक्सपोजरले उनलाई महत्व दिन छाडेका छन् भने उनलाई विभिन्न कन्सर्ट र महोत्सवमा बोलाइन छाडेको छ । हिजोआज एल्बम र सिडी निस्कन छाडेको छ । गायक गायिकाले गीत रेकर्ड गरिसकेपछि सिधै युट्युबमा हाल्ने गरेका छन् । त्यसैले गीत निकाल्न खर्च कम हुने गरेको छ ।
अहिले कन्सर्ट र महोत्सवमा सबैभन्दा धेरै डिमान्ड प्रमोद खरेल, हेमन्त शर्मा, शिव परियार, आस्था राउतलगायत पर्छन् । उनीहरूका गीत रिलिज हुनेवित्तिकै हिट भइहाल्छन् । गायिका अञ्जु पन्त पनि पहिले धेरै डिमान्डेड थिइन् । तर, पछिल्लो समय उनको माग हुन छाडेको छ । अहिले मेलिना राईले अञ्जुको स्थान लिएकी छन् । स्वदेश होस् या विदेशमा मेलिनाको धेरै माग हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्