Logo

भीमसेन थापाको जन्मथलो बन्यो पर्यटकीय केन्द्र


 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पञ्चु पुलामी काठमाडौं , १६ भदौ । नेपालका दोस्रो प्रधानमन्त्री भीमसेन थापाको जन्मथलो गोरखाको फिनाम पीपलथोक पर्यटकीय केन्द्रका रुपमा विकास भएको छ । गोरखा नगरपालिकाको सहयोगमा भीमसेन उद्यान’ निर्माण गरेपछि आन्तरिक पर्यटक पीपलथोक पुग्न थालेका छन्। विसं १८३२ मा थापाको जन्म पीपलथोकमा भएको थियो ।

पीपलथोकमा थापाको पूर्णकदको सालिक राखेर उद्यानमा स्वदेशी र विदेशी पर्यटकको गन्तव्यस्थल बनाउने तयारी गरिएको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले बताउनुभयो । भीमसेन उद्यान नजिकै थापाकै पालामा बनेको जर्नेल धारा पनि रहेको छ ।

ऐतिहासिक महत्व बोकेको पीपलथोकबाट मनास्लुलगायत हिमशृंखलाको अवलोकनका साथै पर्यटकीय केन्द्र अजिरकोट, सिरानचोक, लिगलिगकोटको दृश्यावलोकन गर्न सकिन्छ । यस्तै भीमसेन उद्यान निर्माण गर्न स्थानीय बासिन्दा मकर गुरुङले दुई रोपनी क्षेत्रफलको जग्गा दान गर्नुभएको छ । सोही जग्गामा एक रोपनी थपेर उद्यान निर्माण गरिएको हो । आव २०७२÷७३ मा गोरखा नगरपालिकाअन्तर्गत वातावरणमैत्री स्थानीय शासन कार्यक्रमबाट उद्यान निर्माण गर्न रु पाँच लाख, आव २०७३÷७४ मा जिल्ला वन कार्यालयले एक नगर एक उद्यान कार्यक्रमअन्तर्गत रु आठ लाख र गोरखा नगरपालिकाले रु तीन लाख बजेट लगानी गरी उद्यान निर्माण गरेका हुन् ।

उद्यानमा धुपीलगायत विभिन्न जातका बोटबिरुवा हुर्काइएको छ । फूलबारी बनाइएको छ भने आराम गर्न मिल्ने प्रतीक्षालयहरु बनाइएको गोरखा नगरपालिकाका वातावरणविद् ध्रुवप्रसाद घिमिरेले जानकारी दिनुभयो । वडाध्यक्ष खोपबहादुर अधिकारीका अनुसार भीमसेन उद्यान पुग्ने सडक स्तरोन्नतिका लागि यसवर्ष रु ३० लाख बजेट विनियोजन भएको छ ।

सदरमुकामबाट गोरखा दरबार हुँदै पीपलथोक पुग्ने सडक कच्ची हुँदा बर्खायाममा पर्यटक पुग्न कठिन छ । यसवर्ष सडक सुधार गरी बर्खामा पनि सवारी चल्न सक्ने बनाउने उहाँले बताउनुभयो । भीमसेन उद्यान निर्माण समितिका अध्यक्ष मकर गुरुङले आन्तरिक पर्यटक उद्यानमा आए पनि विदेशी पर्यटक ल्याउन नसकिएको बताउनुभयो । उद्यान आसपासका क्षेत्रमा होमस्टे निर्माण गर्ने, सडक स्तरोन्नति गर्ने र भीमसेन उद्यानको प्रचारप्रसार गर्न सक्ने हो भने पर्यटकीय केन्द्रका रुपमा पीपलथोक विश्वसामु चिनिने उहाँले बताउनुभयो ।

गोरखा नगरपालिका प्रमुख पन्तले छेवेटारस्थित दरौँदी नदीमा ¥याफ्टिङ गर्न आउने पर्यटकलाई पश्चिमकाली, चिल्ड्रेन पार्क हुँदै पीपलथोकस्थित भीमसेन उद्यानसम्म ल्याउन सकेमा यस क्षेत्रका बासिन्दाको जीवनस्तर थप उकासिने बताउनुभयो । छेवेटारदेखि पीपलथोकसम्म पदमार्ग र स्तरीय सडक निर्माण गर्न नगरपालिकाले अर्थ लगानी गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्