Logo

मेरै कारणले डिभोर्स : मनीषा कोइराला


अभिनेत्री मनीषा कोइरालाले आफ्नो वैवाहिक जीवन असफल हुनुको दोषी आफू नै भएको खुलासा गरेकी छिन् । अचेल आफ्नो नयाँ फिल्म ‘डियर माया’को प्रमोसनमा जुटेकी मनीषाले सम्राट दाहालसँगको वैवाहिक जीवन दुई वर्ष पनि नटिक्नुमा आफ्नै कारण रहेको बताएको दैनिक भाष्करले उल्लेख गरेको छ ।

‘बिहेलाई लिएर मेरो एउटा सपना थियो । तर, बिहे गरेपछि त्यो सपना टुट्यो,’ मनीषाले भनेको भन्दै भाष्करले लेखेको छ, ‘बिहेको विषयमा मेरो बेग्लै सपना र विचार थियो । त्यसैले हौसिएर बिहे गरेँ । तर, खासमा म बिहेको लागि बनेकी रहेनछु । त्यसैले आफँैले सम्बन्ध अन्त्य गरेकी हुँ । यसमा मबाहेक अरू कसैको पनि गल्ती छैन ।’

मनीषाले सन् २०१० मा व्यापारी सम्राट दाहालसँग काठमाडाैँमा भव्य रूपमा बिहे गरेकी थिइन् । उनीहरूको बिहे मुस्किलले दुई वर्ष मात्रै टिक्यो । सन् २०१२ मा पाठेघर क्यान्सरबाट पीडित भएपछि मनीषाले अमेरिकामा उपचार गरिन् । क्यान्सरमुक्त भएपछि मनीषाले पुनः फिल्म अभिनय सुरु गरेकी छिन् । उनी यसै वर्षभित्र धर्मसन्तान पाल्ने योजनामा छिन् । मनीषाको डियर माया शुक्रबारदेखि प्रदर्शन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्