Logo

सुमन बनिन् मिस चितवन


मिस चितवनको ताज सुमन गुरुङले पहिरेकी छन् । शुक्रबार साँझ २८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले शीर्ष ताज पहिरेकी हुन् । ताजसँगै उनले यमाहाको फेसिनो स्कुटर पाइन भने एक वर्षको नि:शुल्क शारीरिक व्यायमको सुविधा हात पारिन् । उनलाई मिस नेपाल अस्मी श्रेष्ठले ताज लगाइदिइन् ।

गुरुङलाई पछयाउँदै फस्ट रनर अपको उपाधि मनीषा भट्टराई, सेकेन्ड रनर अप शुभेच्छा शर्मा, थर्ड रनर अप सुजिता न्यौपाने र फोर्थ रनर अपको उपाधि उरुषा अधिकारीले जितिन् । प्रतियोगितामा विभिन्न १३ विधामा विजयी हुनेहरूलाई अवार्ड प्रदान गरिएको थियो । मिस चितवन सुमनले अब हिडन ट्रेजरले आयोजना गर्ने मिस नेपाल प्रतियोगितामा भाग लिन पाउने छिन् । ब्राइट नेपालले गरेको प्रतियोगितामा जिल्लाका विभिन्न ठाउँका किशोरीहरूले सहभागिता जनाएका हुन् । सहभागीहरू थरीथरीका पोसाकमा सजिएर र्‍याम्पमा प्रस्तुत भएका थिए । कोरियोग्राफीको काम भने सञ्जित श्रेष्ठले गरेका थिए ।

यसअघि २०१३ मा आयोजना गरिएको मिस चितवनको उपाधि सितोस्ना वनले हात पारेकी थिइन् । कार्यक्रममा रत्ननगर कला मन्दिरका कलाकारले नृत्य प्रस्तुत गर्दै उपस्थित दर्शकलाई मनोरञ्जन दिए । त्यस्तै पावर हाउस जिममार्फत प्रस्तुत गरिएको जुम्बा डान्स दर्शकले रुचाए ।

प्रतिक्रिया दिनुहोस्