Logo

२०७३ मा कुन कलाकार कुन घटनाले चर्चामा ?


काठमाडौं । २०७३ सालले हामीलाई छाडेर गएको छ । यो वर्ष नेपाली चलचित्रका लागि निकै सुखद रह्यो । यही वर्ष ९० वटा नेपाली चलचित्र रिलिज भए । तर, एक दर्जन चलचित्रले मात्र राम्रो व्यापार गरे । चलचित्र छक्का पञ्जाले सर्वाधिक व्यापार गरेर इतिहास कायम ग¥यो । युट्युबमा नेपाली गीत संगीत हेर्ने लहर नै चल्यो । एफएम रेडियो र टेलिभिजनमा चलचित्रको प्रोमो दिनुभन्दा युट्युबमा राख्ने बाढी नै आयो । यस वर्ष सबैभन्दा बढी चर्चामा आउनेमा कमेडी कलाकार नै रहे । चलचित्र अभिनय र समाजसेवामा पनि उनीहरूले अरुलाई पछाडि पारे । २०७३ सालमा पुरानाभन्दा नयाँ कलाकार बढी चर्चामा आए ।
ज–जसबाट धेरै अपेक्षा गरिएको थियो, ती चर्चामा आउन सकेनन् । दर्शकले मन पराइदिएनन् । यो वर्ष धेरै कलाकार केही न केही रूपमा चर्चामा आए । प्रायः सबै आ–आफ्ना कार्यशैली र हर्कतका कारण चर्चामा रहे । जसमध्ये केही प्रतिनिधि कलाकारबारे यहाँ चर्चा गरिएको छ ।

दीपकराज–दीपाश्री तानिए विवादमा
२०७३ सालमा सबैभन्दा धेरै आम्दानी गर्ने नेपाली चलचित्रमा छक्का पञ्जा रह्यो । जुन चलचित्रले १७ करोडमाथिको व्यापार गरिएको बताइएको छ । यो नेपाली चलचित्र इतिहासकै सबैभन्दा धेरै कमाउने चलचित्र पनि हो । तर, छक्का पञ्जाकै कारण निर्माता निर्देशक विवादमा आए । चलचित्रका निर्माता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले फेसबुकमा छक्का पञ्जा लिक गरेको भन्दै कृष्णप्रसाद सुवेदीविरुद्ध प्रहरीमा उजुरी हाले । त्यसको केही दिनपछि सुवेदीले आत्महत्या गरे । छक्का पञ्जाकै कारण एक व्यक्तिले अनाहकमा ज्यान गुमाउनु परेको भन्दै दीपकराज–दीपाश्रीको आलोचना भयो । सकारात्मकसँगै उनीहरूको नकारात्मक चर्चा पनि बढी भयो । त्यति मात्र होइन, हलमा चलेका बेला छक्का पञ्जाको निकै चर्चा भए पनि चलचित्रले दिन खोजेको सन्देशलाई लिएर पछिपछि सामाजिक सञ्जालमा भने दीपकराज–दीपाश्रीको उछितो नै काढियो । जसले दुवैलाई धेरै विवादमा तान्यो ।

धुर्मुस–सुन्तली वर्ष व्यक्ति
२०७३ साल धेरै चर्चामा आउनेमा कलाकारद्वय सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली रहे । यो वर्ष उनीहरूले काभ्रेको पहरी गाउँ,सिन्धुपाल्चोकको गिरानचौर र महोत्तरीको बर्दिबासमा एकीकृत नमुना बस्ती बनाए । दुई बस्ती निर्माणका लागि १० करोडभन्दा बढी आर्थिक संकलन गरे । गिरानचौरमा भूकम्पपीडित ६५ परिवारलाई घर दिलाए । मुसहर बस्तीमा निर्माण भएको ५४ वटा घर वैशाख १ गते हस्तान्तरण गरे । हरेक क्षेत्रमा उनीहरूको चर्चा भयो । कलाकारिता छाडेर समाजसेवामा दुवैले गरेको योगदानको देश–विदेशमा समेत प्रशंसा भएको छ । कान्तिपुर पब्लिकेसनबाट प्रकाशित नेपाल साप्ताहिले  उनीहरुलाई वर्ष व्यक्ति घोषण गरेको छ ।

अर्चना पनेरु साफ
गएको वर्षको सुरुमा अर्चना पनेरुको नेपाली चलचित्रमा निकै चर्चा चल्यो । आफूलाई पोर्न स्टार भन्न रुचाउने अर्चनाले अभिनय गरेका दुई चलचित्र जिस्म र छेस्को रिलिज भए । तर, दुवै चलचित्रमा उनी नांगिनेबाहेक अरु कमाल देखाउन सकिनन् । दर्शकले चलचित्र हेरिदिन सिनेमा घरसम्म जाने इच्छा देखाएनन् । चलचित्रको कथावस्तुले मागे आफू पूरै नांगिन मात्र होइन, बेड सिन पनि तयार रहेको बताएपछि राजु गिरीलगायत एक झुन्ड निर्देशक उनको पछि लागेका थिए । तर, उनी अहिले गुमनाम हुन पुगेकी छन् ।

चलेनन् राजेश हमाल
यो वर्ष राजेश हमालका लागि निराशाजनक रह्यो । उनले अभिनय गरेको एउटै मात्र ‘शकुन्तला’ चलचित्र रिलिज भयो । जुन चलचित्रले राम्रो व्यापार गरेनन् । शकुन्तला चलचित्रमा राजेशले तेस्रो लिंगी चरित्रको भूमिका निर्वाह गरेका थिए । पहिलो पटक महिलाको रूपमा देखिएका राजेशलाई दर्शकले रुचाइदिएनन् । उनीसँग अहिले एउटा पनि चलचित्र हातमा छैन ।

‘पलाँस’ ले डुबायो रेखालाई
विगत वर्षमा सबैभन्दा बढी चर्चामा आउनेमा रेखा थापा हुन् । उनी चलचित्र अभिनयभन्दा पनि राजनीतिका कारण धेरै चर्चामा आएकी हुन् । उनी माओवादी छाडेर एकाएक राप्रपा प्रवेश गरिन् र केन्द्रीय सदस्य पनि निर्वाचित भइन् । यस वर्ष रेखाले अभिनय गरेको चलचित्र ‘पलाँस’ मात्र रिलिज भयो । यौनकथामा आधारित ‘पलाँस’ ले रेखा थापालाई डुबायो भन्दा फरक पर्दैन । धेरैले ‘पलाँस’ ले रेखा थापाको स्टारडमका कारण व्यापार गर्ने आशा गरेका थिए । तर, त्यस्तो भएन ।

झरना थापाको निर्देशनमा फड्को
करिब दुई दशकदेखि नेपाली चलचित्र उद्योगमा नायिका र निर्माताको परिचय बनाएकी झरना थापाले निर्देशकमा फड्को मारेकी छन् । उनले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर २’ २०७३ सालमै सुटिङ पूरा भएको हो । चलचित्र आगामी जेठमा रिलिज हुने बताइएको छ । ‘ए मेरो हजुर २’ मा साम्राञराज्यलक्ष्मी राणा र सलिनमान बानियाँको अभिनय रहेको छ ।
नायिका होइन, अब महिला नेतृ करिश्मा
नायिका करिश्मा मानन्धर २०७३ सालमा निकै चर्चामा आउने व्यक्तित्व हुन् । तीन दशक लामो चलचित्र यात्रा पार गरेकी करिश्मा अब महिला नेतृ बनेकी छन् । उनलाई डा.बाबुराम भट्टराईले नयाँ शक्ति नेपालको अन्तरिम परिषद् सदस्य बनाएका छन् । २०७३ सालमा करिश्माले निर्माण गरेको ‘फागु’ चलचित्र रिलिज भए पनि त्यसले कुनै रंग देखाउन सकेन । अहिले उनी स्थानीय तहको निर्वाचन लड्ने तयारीमा छिन् ।

डिप्रेसनको सिकारबाट तंग्रिँदै केदार घिमिरे माग्नेबुढा
नेपाली कला क्षेत्रमा केदार घिमिरे माग्नेबुढा सानादेखि ठूलासम्म परिचित छन् । खासगरी बालबालिकामा माग्नेबुढा निकै प्रसिद्ध छन् । मेरी बास्सै अभिनय गर्दागर्दै एकाएक माग्नेबुढा हराए । धेरैले उनीबारे चासो पनि राखेनन् । सहकर्मी सीताराम कट्टेलसँगको दुश्मनी उनका लागि निकै पीडादायी बन्यो । सीताराम मेरी बास्सैमा अभिनय सँगै भूकम्पपछि समाजसेवामा लागे । तर, माग्नेबुढा गुमनाम भए । बितेको वर्ष केदार घिमिरे एकाएक डिप्रेसनको सिकार भएको समाचार सार्वजनिक भयो । डिप्रेसनकै कारण उनी सबैबाट अलग थिए । घरमै बसेर औषधि सेवन गरिरहेका थिए । माग्नेबुढा डिप्रेसनको सिकार भएको खबरपछि चौतर्फी चर्चा परिचर्चा भयो । धेरैले उनलाई सहयोग गर्ने, सम्बन्ध सुधार गर्ने पहल गरे । यसअघि टुटेको माग्नेबुढा र धुर्मुसको सम्बन्ध २०७३ सालमै फेरि जोडिएको हो ।

प्रतिक्रिया दिनुहोस्