Logo

कुखुराको मूल्य घटयो, कुखुरापालक किसान मर्कामा


कलाखबर संवाददाता, १५,कात्तिक–चितवन । ब्वायलर कुखुराको मासुको मूल्यमा गिरावट आएपछि साना किसान मर्कामा परेका छन् । बजारमा ब्वायलर कुखुराको तयारी मासु प्रतिकिलो रु २६० मा बिक्री हुँदै आएको छ । किसानको फार्मबाट जिउँदो कुखुरा प्रतिकिलो रु १५० मा बिक्री हुने गरेको छ ।

नेपाल कुखुरापालक किसान सङ्घका अध्यक्ष झलक पौडेलका अनुसार एउटा कुखुरा बिक्री गर्दा किसानले रु ५० भन्दा बढी नोक्सान व्यहोरिरहेका छन् । किसानले एउटा चल्ला रु ९० मा खरीद गर्ने गरेका छन् ।  किसानले कुखुरा बिक्री गर्ने बेलासम्म चार किलो दाना, औषधि, श्रम, भाडालगायत खर्च गर्दा प्रति कुखराको मूल्य रु ४२५ भन्दा बढी पर्छ ।

किसानले एउटा कुखुरा रु ३७५ मा बिक्री गर्ने गरेको पौडेलले बताउनुभयो । साना किसानले निरन्तर घाटा व्यहोर्नु परिरहेको छ, उहाँले भन्नुभयो । देशभर २६ हजारभन्दा बढी साना किसानले ब्वायलर कुखुरापालन गरिरहेका छन् ।

मासु बिक्री गर्ने ठूला व्यापारीले चिस्यान केन्द्रमा मासु थुपार्ने गरेका छन् ।  मासु सकिँदा मूल्य घटाइदिने र सस्तोमा कुखुरा खरीद गर्ने गरेका छन् भने मासु थुप्री रहदा मूल्य बढाइदिने गरेका कारण समस्या भएको पौडेलले बताउनुभयो ।

कुखुरापालन व्यवसायी मञ्चका अध्यक्ष डा होमबहादुर बस्नेतले मासुको मूल्य प्रतिकिलो रु ३०० भन्दा बढी नभएसम्म किसानलाई फाइदा नहुने बताउनुभयो । दशैँको समयमा खसी र राँगा धेरै काटिँदा त्यसको सुकुटी बनाएर राख्ने गरेका कारण कुखुराको मूल्यमा कमी आएको उहाँले बताउनुभयो ।

नेपाल कुखुरापालन महासङ्घका अध्यक्ष गुणचन्द्र बिष्टले उच्चस्तरको प्रविधिमा कुखुरा पाल्न सकेमा यही दरभाउले नाफा हुने भए पनि अहिलेको प्रविधिमा नोक्सान हुने बताउनुभयो । अवैध रुपमा भित्रिने भारतीय मासुका कारण पनि मूल्यमा कमी आएको उहाँको भनाइ छ ।

नेपालमा अन्य पेशा व्यवसाय गर्न नसक्ने किसानले आफ्नै बारीमा वा खोर भाडामा लिएर ब्वायलर कुखुरा पाल्ने गर्दछन् । समय समयमा दरभाउ तलमाथि हुँदा ऋणमा व्यवसाय गर्ने मर्कामा पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्