Logo

गरगहना चोरी गर्ने पक्राउ


काठमाडौँ, २९ माघ,महानगरीय प्रहरी बूढानीलकण्ठले सुनका गरगहना चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले बूढानीलकण्ठ नगरपालिका–६ स्थित रेखा तिवारीको घरबाट गरगहना चोरी गर्ने बाराका रुपेश यादवलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले तिवारीको घरमा रङरोहन गर्न आएको बेला चोरी गरेको अनुसन्धानमा खुलेको बताउनुभयो । तिवारीसँग प्रहरीले एक तोला सुनको औँठी, सिक्री र नगद पाँच हजार बरामद गरेको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लागुऔषधसहित दुई पक्राउ

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले नयाँ बसपार्कस्थित वीरेन्द्र ऐश्वर्य मार्गस्थित न्यू कन्याम त्रिवेणी गेष्ट हाउसको पार्किङ स्थलबाट लागुऔषधसहित सर्लाहीका मानबहादुर बम्जन र रामलाल साहलाई सोमबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेकासँग प्रहरीले फेनार्गन, नुर्फिन र डाइजेल्याव २९० एम्पुल तथा नाइट्राभेट ट्याब्लेट एक हजार ४७० ट्याब्लेट बरामद गरेको छ । लागुऔषधका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्