Logo

 चाडबाडको मौका छोपी रुटमा चलेनन् सार्वजनिक सवारी ।


 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौँ, १२ असोज , राजकुमार राई । दशैँको मौका छोपी सार्वजनिक यातायातले रुट परमिट लिएको स्थानमा सवारी नचलाउँदा आवत–जावतमा समस्या भएको यात्रुले गुनासो गरेका छन् ।चाडबाड वा अन्य अप्ठ्यारो समयको अवसर पारेर सार्वजनिक यातायात तोकिएभन्दा बाहिर सञ्चालन हुँदा सडकमा सवारी नपाएर हिँड्नुपर्ने बाध्यता रहेको यात्रुको भनाइ छ । सार्वजनिक बिदा दिइएको फूलपातीका दिन बेलुकी पुरानो बसपार्क– व्यवसायी सेवा समितिका बा२ख ६२६४ र बा२ख ६८०५ नंको बस खुलामञ्चस्थित बसपार्कमा नछिरी यात्रुको बिचल्ली बनाएको यात्रु रविना देउलाले दुखेसो गर्नुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको फोन नं १०३ मा सवारी नम्बरसहित गुनासो गर्दा पनि प्रहरीले कारबाही नगरेको उहाँले सुनाउनुभयो ।बाइस लाख यात्रु उपत्यकाबाहिरमहाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेश रञ्जितकार रुटमा चल्ने भनी रुट परमिट लिएका सवारी रुटमा नचले त्यसको विवरण आवश्यक कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइने बताउनुहुन्छ ।

“भदौ २० देखि असोज ११ गते बुधबार बेलुकीसम्म २२ लाख यात्रु दशैँ मान्न उपत्यका बाहिरिएका छन्, दशैँको अवसर पारेर बढी भाडा लिने १४ वटा लामो दूरीका, ६० वटा ट्याक्सी र बढी भाडा लिन बिचौलियाको काम गर्ने ३३ जनालाई कानुनी कारबाहीको दायरामा ल्याइएको छ”, उहाँले भन्नुभयो ।

सार्वजनिक यातायातका लागि निजी क्षेत्रका व्यवसायीको भर परिएको अवस्थामा चाडबाड र अप्ठ्यारो परिस्थितिमा जिम्मेवार भएर काम नगर्दा लाखौँ यात्रुले दैनिक दुःख झेल्नु परेको सार्वजनिक यातायात सुधारको अभियानमा लाग्नुभएका रामबहादुर थापा बताउनुहुन्छ ।

नियम उल्लङ्घन गर्नेलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही नहुँदा यातायात क्षेत्रमा विकृति मौलाएको उहाँले बताउनुभयो । यातायात व्यवसायीको दबाबमा चाप भएका ठाउँमा सवारी चलाउन पाउने निर्णय विभागबाट गराएर यात्रुलाई दुःख दिने काम भएको उपभोक्ता अधिकारवादीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्