Logo

‘ग्लोबल युथपिस कन्फ्रेन्स २०१८’ काठमाडौंमा सुरु


कलाखवर संम्वादाता,पौष २९-विश्वभरका युवाहरुका साझा समस्या र सरोकारबारे छलफल गर्न विभिन्न ३३ राष्ट्रका युवा प्रतिनिधिहरु काठमाडौंमा भेला भएका छन् । युवा संसद नेपालले आयोजना गरेको ‘ग्लोबल युथ पिस कन्फ्रेन्स २०१८ ’ मा सहभागि हुन सार्क राष्ट्रसहित अमेरिका, क्यानडा, अष्ट्रेलिया, इथियोपिया, युगान्डा,जापान, फिलिपिन्स, थाइल्याण्ड लगायत ३३ देशका १ सय ३० जना युवा अभियन्ताहरुको सहभागिता रहेको छ ।

विश्व युवा शान्ति सम्मेलनको अन्तरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित भव्य समारोहकाबीच उद्घाटन गरे । सम्मेलनको उद्घानटन गर्दै रेग्मीले विश्वभरका युवा प्रतिनिधिलाई नेपालमा स्वागत गर्न पाएकोमा खुसी व्यक्त गरे। युवा शक्तिमा नै विश्वको भविष्य निर्भर रहेको बताउदै उनले न्यायमुलक समाज, दिगो विकास, लोकतान्त्रिक शासन र समानता युवाका सरोकारका विषय रहेको बताए ।

 नेपालले युवाका समस्या समाधान गर्न कानुनी र कार्ययोजनागत ढंगले धेरै प्रयास गरिरहेको भन्दै युवा पलायन रोक्नु नेपालको मुख्य चुनौती रहेको बताए । ‘बौद्धिक जनशक्ति मात्रै होइन श्रमिक युवा जनशक्ति पनि ठूलो संख्यामा विदेशिएको सन्दर्भमा उनीहरुलाई स्वदेशमै अवसर सिर्जना गर्न नेपालका लागि चुनौतीको विषय हो । ’, रेग्मीले भने ।

सो क्रममा युवा संसद नेपालका संयोजक दिवाकर अर्यालले युवाहरुको साझा एजेण्डा र आवश्यकताबारे छलफल गरि भावी रणनीति तय गर्न सम्मेलन आयोजना गरिएको बताए । सम्मेलनमा जलवायु परिवर्तन, लोकतन्त्र र सुशासन, सामाजिक उद्यमशीलता , युवा सहभागिता र शान्तिका लागि सांस्कृतिक कुटनीति लगायतका विषयमा छलफल हुने अर्यालले जानकारी दिए ।

उद्घाटन समारोहमा नेपालका लागि युरोपेली युनियनकी राजदूत वेरोनिका कोडीले विश्वभरका युवाहरुको साझा सरोकार सम्बोधन गर्न र दिगो शान्ति स्थापना गर्न ईयुले सहयोग गर्ने बताए । युवा सम्मेलनले विश्वको ध्यान युवाका एजेण्डातर्फ आकर्षित गराउने कोडीको विश्वास थियो ।त्यस्तै नेपालका लागि बंगलादेशकी राजदूत मास्फी विन्ते श्याम्सले बंगलादेश सरकारले आफ्नो देशमा युवा उद्यमशीलता बढाउन प्रयास गरिरहेको बताए । युवा उद्यमशीलता, शान्ति स्थापना र सुशासनका लागि विश्वभरका युवासंग सरोकार गर्न तयार रहेको उनको भनाई थियो ।

सो क्रममा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले युवाहरुको मनोविज्ञान एउटै भएपनि देशअनुसार युवाका प्राथमिकता फरक देखिन सक्ने बताए । सम्मेलन मार्फत साझा रणनीति बनाएर विश्वशान्तिलाई संस्थागत गर्न नेपालबाटै पहल लिइनु उत्तम हुने उनको भनाई थियो ।

सम्मेलनको उद्घाटन समारोहमा नेपालमा युवा, शान्ति, उद्यमशीलता र सुशासनको क्षेत्रमा काम गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । अभिनेता राजेश हमाल, सिएनएन सुपर हिरो पुष्पा बस्नेत, टिकाराम यात्री, शान्ति अभियन्ता पिताम्बर भण्डारी, युवा वैज्ञानिक जितेन्द्र उपाध्याय,युवा अभियन्ताहरु सुलोचना सिग्देलन,बासु गौतम र हिक्मत थापालाई ‘युवा अभिप्रेरणा सम्मान २०१८’ प्रदान गरिएको थियो । आइतबारसम्म चल्ने सम्मेलन काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्