Logo

कुरा गरेर फकाउनेलाई होईन, काम गरेर देखाउनेलाई भोट ः सोलुका मतदाता


 

 

सल्लेरी, सोलुखुम्बु, २८ कात्तिक,राजकुमार राई । ः आसन्न प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकै गर्दा सोलुखुम्बुका आम मतदाता उत्साहित छन् । यतिबेला उम्मेदवार चुनावी एजेण्डासहित मत माग्न कहिल्यै नपुगेको जनताको घर÷घरमा उनीहरू पुगिरहेका छन् । कहिल्यै नचिनेका व्यक्तिलाई सधँै  चिनिरहे जस्तो व्यवहार समेत उम्मेदवारले देखाए ।

उनीहरू आफ्नो पोल्टोमा मत लिनका लागि अनेकौ सपना बाड््दै मतदाताको घरघरमा पुग्ने गरेका हुन् । प्राय सबै उम्मेदवारले जिल्लाको समृद्धिका लागि आफूलाई जिताउन हरेक मतदातासँग आग्रह गरिरहेका छन् । उम्मेदवारले दिने आश्वसन र मतदाताको चाहाना पनि उस्तै छ । महाकुलुङ गाउँपालिका– ५ सोलुखुम्बुका भुपन राई भन्नुहुन्छ, “आश्वासन मात्रै भन्दा पनि काम गरेर देखाउने उम्मेदवारलाई मतदान गर्ने सोच छ ।”

एकसय १८ वटा मतदानस्थल र १२५ मतदान केन्द्र रहेको सोलुखुम्बुमा नेपाली काँग्रेस तथा वाम गठबन्धनसहित सात दलका उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा रहेका उम्मेदवारले जनताको मन जित्न विभिन्न आश्वासन दिइरहेका छन् ।

त्यसैले लोकप्रिय कार्यक्रम र एजेण्डा भएका प्रतिनिधि छान्ने सोलुदुधकुण्ड नगरपालिका ३ का मगंलसिंङ तामाङको धारणा  छ ।      यहाँका मतदाताको आरोप छ, २०४८ साल देखि नै निर्वाचित उम्मेदवार विश्वासिला भएनन् । दूधकोशी गाउँपालिका–२ की डोल्मा खालिङ पहिलोपटक मतदान गर्दैहुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पर्यटन प्रवद्र्धन गर्दै संवृद्ध सोलुखुम्बु बनाउने स्पष्ट धारणा भएको उम्मेदवारलाई भोट दिने सल्लाह भएको छ ।”

बग्रेल्ती नयाँ सडक खुलेका छन्, तर बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने ती सडकले नागरिकलाई झनै सास्ती थपिदिन्छ । दीर्घकालीन सडकको योजना पनि अवका जनप्रतिनीधिमा हुनुपर्ने मतदाताको अपेक्षा छ । नेचासल्यान गाउँपालिका– २ सोलुखुम्बुका नवराज पराजुली भन्नुहुन्छ, “सडक नहुँदा बिरामी प¥यो भने घण्टौ बोकेर अस्पताल पुग्नुपर्छ, होइन भने हेलिकप्टरनै चार्टर गर्नुपर्छ, त्यसैले सडक विकासको पहिलो पूर्वधार हो, यो पूर्वधारलाई समेत समेट्ने नेतृृत्व चयन गर्नुपर्छ ।”

अचानक बिरामी भएमा उपचार गर्ने भरपर्दो अस्पताल छैन, जिल्लामा रहेको एक मात्र अस्पताल जहाँ घण्टौं हिँडेर आइपुग्नुपर्ने, या त हेलिकप्टर चार्टर गरेरै राजधानी पुग्नुपर्ने बाध्यता छ । त्यति मात्र होइन सरकारी सेवाकै लागि खुम्बुवासी हेलिकप्टर चार्टर गर्न बाध्य भएकाले नै  सर्वसुलभ स्वास्थ्य सेवा, सहज सरकारी सेवा पनि यसपटक सोलुखुम्बुका मतदाताको ससर्त बनेको हो।

मतदाताको अपेक्षा र उम्मेदवारको आश्वसन उस्तै उस्तै छ तर विगतलाई हेर्दा उम्मेदवारको कतिपय आश्वसन आश्वसनमै सीमित हुने भएकाले पनि आम मतदाता उम्मेदवारदेिख सशंकीत भएका हुन् ।       प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुबाट ६९ हजार ४११ मतदाताले मंसिर १० गते हुने निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्