Logo

लुट चलचित्रका निर्माता साढे दुई करोड नक्कली नेपाली नोटसहित यसरी समातिए


 

कलाखबर संवाददाता,२,जेष्ठ– काठमाडौं । चलचित्र निर्माता तथा वितरक माधव वाग्लेसहित ६ जनालाई प्रहरीले ठूलो परिणाममा नक्कली नोटसहित पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुलाई काठमाडौंको कमलपोखरी, ललितपुरको लुभु, चारढुङ्गे, चावहिल, बागबजार र गोंगबु स्थानबाट पक्राउ गरेको हो ।

उनीहरुबाट २ करोड साठ्ठी लाख त्रिसठ्ठी हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन कुमार थापाले जानकारी दिए ।

चारढुङ्गे स्थित प्रिनसेस मुभिज प्रालिका सञ्चालक माधवराज वाग्लेको कोठामा खानतलासी गर्दा १ हजार दरको २ करोड ५२ लाख बरामद गरेको छ ।

वाग्ले चर्चित चलचित्र लुट, लुट–२, छड्के, रेशम फिलिली लगायत चलचित्रका निर्माता तथा वितरक हुन् ।

यसरी खुल्यो पोल

काठमाडौँको मित्रनगरस्थित सुमधुर क्याफे तथा खाजाघरमा सुर्खेत घर भई हाल कमपोखरी बस्ने २४ वर्षीय महेन्द्र बोगटीले खाजा खाएको बिल तिर्दा नक्कली नोट दिएपछि खाजा घरका मालिकले प्रहरीमा खबर गरेका थिए ।

तत्कालै गोंगबु प्रहरीले बोगटीलाई पक्राउ गरी सोधपुछ तथा खानतलासी गर्दा १ लाख २० हजार बरामद गरेको थियो ।

बोगटीले दिएको सूचनाको आधारमा ललितपुर लुभु बस्ने २४ वर्षीय सुजित तामाङ र १९ वर्षीय साजन तामाङलाई सात लाख ४३ हजार नक्कली नेपाली नोटसहित पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार बागबजारस्थित श्री नवज्योती प्रिन्टिङ प्रेसका सञ्चालक ३६ वर्षीय प्रकाश सुवेदीले भोलेबाबा प्रिन्टिङ प्रेसका सञ्चालक ३९ वर्षीय विकेश नापीतलाई छाप्न दिएका थिए ।
सबै नक्कली नोट नापितको छापामा छापिएको थियो ।

नापितको छापाखानाबाट नक्कली नोट छापेपछि नक्कली नोट बनाउन प्रयोग गरिएको ४ थान प्लेट सुवेदीले आफ्नो घरमा राखेका थिए ।

उनीहरुले विभिन्न होटल, योनकर्मी, जुवा, लागुऔषध कारोबारीको प्रयोग गरेर तथा सक्कलीमा मिसाएर नक्कली नोटलाई बजारसम्म पुर्याउने गरेका थिए ।
उनीहरुलाई १० वर्षसम्म कैद सजाय हुने बताइएको छ ।

 

 

 

 

 

रातो पाटीबाट साभार

प्रतिक्रिया दिनुहोस्