Logo

नजिकिदो चुनाबसंगै इटहरीमा पेस्तोल आतंक, हतियार नै हतियार भेटिएपछि प्रहरी चकित (फोटो फिचर सहित)


२७ – कातिक, इटहरी,राजकुमार राई । गत बिहीबार राती इटहरी ४ स्थित चौधरी टोलमा एक्कासी गोली चल्यो । गोली चलेपछि आसपासका स्थानीय त्रसित बने । गोली चलेको केही मिनेटमै प्रहरी घटनास्थल पुग्यो । तर, गोली चलाउने व्यक्ति फरार भैसकेका थिए । घटनास्थलमा एक थान गोलीको खोका फेला पार्यो प्रहरीले । गोली ‘अटोमेटिक’ पेस्तोलबाट फायर गरिएको थियो ।

चुनावको मुख त्यसमा पनि इटहरी चोक नजिक गोली पड्केपछि प्रहरी तत्काल सकृय बन्नु स्वभाविक थियो । थाहा भयो– सोही स्थान बस्ने मनोज चौधरीले अर्को सुजन नेपाललाई तर्साउन हवाई फायर गरेका थिए । प्रहरीले गोली चलाउने चौधरीको खोजीलाई व्यापक बनायो । उनले चलाउने बा ५ च २७८ को कार छाडेर फरार भैसकेका थिए । उनको खोजीमा सादा पोसाकका प्रहरी परिचालन गरेर जब घरमा छापा मार्न पुग्यो प्रहरीको टोली अनि तिन छक्क पर्यो ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी संञ्जय बहादुर राउत सहितको टोलीले उनको घर खानतलासी गर्दा उनको कोठामा राखिएका हतियार र अन्य सामाग्री देखेर आश्चर्य चकित बनेको हो । उनको कोठामा यति धेरै हतियार थिए –लाग्थ्यो कि त्यो कुनै हतियारको भण्डार नै हो । प्रहरीले उनको कोठा सर्च गर्दा पेस्तोल, एयरगन, गोली, खुकुरी, तरवार र कट्टी जस्ता घातक हतियार भेटिए । खेलौना प्रकारका बन्दुक र पेस्तोल त एति धेरै थिए कि गोदाम नै मानौ ।

चौधरीले घटनास्थलमा पड्काएको पेस्तोल कोठामा फेला नपारेपनि अन्य ९होम मेड० एयर पेस्तोल ३ थान फेला परयो । साथै १६ थान खेलौना बन्दुक, गोली २ थान, ३ थान कट्टी, नक, चक्कु, ७६ थान हाते घडी, ल्यापटप, २५ थान मोबाइल सेट उनको कोठाबाट बरामद भयो ।उनको कोठाबाट बरामद गरेको हतियारले फरार मनोज चौधरी कुख्यात अपराधी हुन सक्ने दाबी गरेको छ । अनुसन्धानबाट चौधरीले समुह बनाई रातको समयमा नक्कली र सक्कली दुवै बन्दुक प्रयोग गरेर लुटपाट गर्ने उद्धेश्यले हुन सक्ने बताएको छ ।

चौधरी इटहरी क्षेत्रमा साना हतियार र लागुऔषधको कारोबारी भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी राउतको दाबी छ । चौधरीले के उद्धेश्यले हतियार जम्मा गरेको हो भन्ने बिषयमा अनुसन्धान थालेको राउतले बताए । बरामद सबै हतियार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।पत्रकार सम्मेलनमा बोल्दै डिएसपी राउतले लागुऔषध खरिदबिक्री गर्दा पैसा नहुने प्रयोकर्ताहरुबाट घडी र मोबाईल चौधरीले लिने गरेको उनको भनाई छ ।

‘इटहरीमा यति धेरै हतियार अहिलेसम्म फेला परेको थिएन’, राउतले भने ‘यो प्रहरीको सफलता हो’ ।
चौधरीको खोजीमा प्रदेश १ लगायत देशका बिभिन्न स्थानमा प्रहरी परिचालन गरिएको समेत उनले बताए । उनि चाडै पक्राउ पर्ने राउतको दाबी छ । उनलाई ज्यान मार्ने उद्योग, लागुऔषध र हातहतियार तथा खरखजनाको मुद्धा दायर गरिएको पत्रकार सम्मेलनमा डिएसी राउतले जानकारी दिए ।

यस्तै दुई महिनाको अबधिमा इटहरी उपमहानगर भित्र ११ जना लागुऔषध, २४ जना गुण्डागर्दी, २३ जना यौनविकृति गर्ने, ९ जना ज्यान मार्ने उद्योग, १४ जना जुवाडे पक्राउ गरी कारबाही गरेको समेत पत्रकार सम्मेलनमा उनले जानकारी दिए । इलाका प्रहरी कार्यालय इटहरीमा राउत आए पश्चात २० जना बिरुद्ध सार्वजनिक अपराध तथा ४ जना चोरीमा संलग्नलाई कारबाही गरेको बताइएको छ । चोरीका दुई सबारी र ४ वट मोबाइल बरामद गरिएको छ ।यस्तै अदालतबाट दोषी भइ हाल फरार रहेका १२ जना अभियुक्तलाई पक्राउ गरी अदालतमा हाजिर गराइएको समेत जानकारी डिएसपी राउतले दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्