Logo

परम पुजनिय धर्मगुरु अवतारी कुकी लामाको स्वर्गारोहण


 

कलाखबर संवाददाता, १६ माघ काठमाडौं । ओखलढुंगाको तोलु गुम्बाका प्रमुख अवतरी टुल्कु ङवाङ तेन्जिङ रिम्पोछे (लामा कुकी) को निधन भएको छ । अवतरी टुल्कुको दोस्रो जन्मको ९७ वर्षपछि आइतवार निधन भएको हो।

लामा कुकी यसअघि सोलुखुम्बुको क्याब्रोक गुम्बाको प्रमुख रिम्पोछे थिए । परिवारजनका अनुसार क्याब्रोकको प्रमुखबाट निधन भएपछि सोलुखुम्बुको नाम्चेमा जन्मिए । २ वर्षकै उमेरमै आफु क्याब्रोकको लामा रहेको बताएपछि बौद्ध परम्पराअनुसार जाँचबुझ गरिएको थियो । जाँचबुझको क्रममा क्याब्रोकको रिम्पोछे रहेको ठहर भएपछि ३ वर्षकै उमेरमा बौद्धशिक्षाको लागि तिब्बत गएका थिए । टिब्बतको जरङबु गुम्बामा शिक्षा लिएर २५ वर्षको उमेर नेपाल फर्केका लामा कुकी ओखलढुंगाको तोलु गुम्बा रिम्पोछे भएर बसेका थिए।

केही समयअघि विरामी भएपछि उनलाई काठमाडौं ल्याइएको माइला छोरा ङवाङ छुल्ठिम लामाले जानकारी दिए । ‘केही समयदेखि विरामी भएर काठमाडौंमै रहँदै आउनुभएको थियो,’ उनले भने, ‘पछिल्लो समयमा निमोनिया भएर मनमोहन अस्तपलमा उपचारको क्रममा निधन भयो ।’ रिम्पोछेको शवलाई अहिले बौद्धस्थित शेर्पा सेवा केन्द्रमा राखिएको छ । बौद्ध परम्परा अनुसार रिम्पोछे थोदममा छन् । डाक्टरले मृत्यु घोषणा गरेपछि शरिर तातो रहिरहनुलाई थोदम भनिन्छ । मृत्युपछि थोदम कमै रिम्पोछे मात्रै बस्ने गर्छन् । थोदमलाइ समाधि पश्चातको निर्वाण प्रकृयाको ध्यान पनि भन्ने गरिन्छ।

पूर्व सभासद् समेत रहेकी रिम्पोछेकी बुहारी आङदावा शेर्पाका अनुसार रिम्पोछेको बुधवार ११ वजे अन्तिम दाहसंस्कार गरिने साइत जुरेको छ । यद्यपी थोदम समाधि पश्चातको निर्वाणा प्रकृयाको ध्यान रहेको हुँदा उक्त ध्यान भंग नभएको खण्डमा केही दिने अझै राख्नुपर्ने हुन्छ । बुधवारसम्ममा भने ध्यान भंग हुने अनुमान गरिएको छ । उनको अन्तिम दाहसंस्कार जम्बुडाँडामा हुने उनका नाती कर्म शेर्पाले जानकारी दिए । प्रायः रिम्पोछेहरुको दाहसंस्कार टेकुमा गरिन्छ । यद्यपी बौद्ध परम्पराअनुसार दाहसंस्कार गर्नको लागि साइत अनुसार ठाउँको निर्क्योल हुन्छ।

उनका ५ छोरा र ३ छोरी रहेका छन् । रिम्पोछे कुकी लामाको अर्को जन्म भने हुने नहुने निश्चित छैन् । परिवारजनका अनुसार पुनजन्म हुने भए ३ देखि ५ वर्षभित्र हुनेछ।

प्रतिक्रिया दिनुहोस्