Logo

सञ्चारकर्मी प्रवेश अधिकारीको पहिलो उपन्यास आधा आकाश’को विमोचन सम्पन्न


कलाखबर संवाददाता,२६,जेठ– काठमाडौं । सञ्चारकर्मी प्रवेश अधिकारीको पहिलो उपन्यास आधा आकाश’को शनिबार एक विशेष कार्यक्रमबीच लोकार्पण गरिएको छ ।

सोसाईटी मिडियाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. तुलसी भट्टराई, वरिष्ठ साहित्यका डा.बेञ्जु शर्मा, कवि विप्लव प्रतीक, साहित्यका वियोगी बुढाथोकी, पत्रकार नकुल अर्याल लगायतले उपन्यासको संयुक्त विमोचन गर्नुभएको थियो ।

चितवनमा लामो समय रेडियो प्रस्तोताको रुपमा काम गरी अध्ययनका लागि बेलायत पुगेका लेखक अधिकारीले उपन्यासमा विद्यार्थी भिसामा बेलायत पुगेका युवा युवतीको भोगाई र प्रेमकथा समेटिएको बताउनुभयो ।

प्रमुख अतिथि एवं वरिष्ठ साहित्यका डा. तुल्सी भट्टराईले उपन्यासहरुको भिडमा बेग्लै शैली र कथालाई ‘आधा आकाश’ ले प्रस्तुत गरेको बताउनुभयो । ‘नेपाली उपन्यास लेखनमा दार्शनिक प्रयोग पनि भएको छ । युवा पुस्ताले आधा आकाश पढ्नैपर्छ , अरुले छुटाउनुहुन्न ।’, भट्टराईले भन्नुभयो ।

साहित्यकार डा. बेञ्जु शर्माले उपन्यासमा रहेका पात्रले पाठकलाई प्रेमानुभूति गराउने भन्दै उपन्यास क्षेत्रमा ‘आधा आकाश’ सशक्त कृतिको रुपमा रहेको बताउनुभयो । कवि विप्लव प्रतीकले ‘आधा आकाश’ ले नयाँ र पुराना सबैखाले पाठकलाई न्याय गर्ने भन्दै युवा पाठकका लागि ‘आधा आकाश’ पठनीय हुने बताउनुभयो । साहित्यकार वियोगी बुढाथोकीले ‘आधा आकाश’ का लेखकबाट यस्तै सशक्त कृतिको अपेक्षा गरेको भन्दै पाठकका लागि उत्कृष्ट उपन्यास बजारमा प्रवेश गरेको बताउनुभयो ।

सोसाईटी मिडियाका अध्यक्ष नकुल अर्यालले कृतिले सञ्चारकर्मीका रुपमा रहेका लेखकको परिचय मात्रै नभई उपन्यासको चालु बजारको गति पनि बदल्दिने बताउनुभयो ।

लेखक स्वयं प्रकाश रहेको ‘आधा आकाश’ को वितरक एमी इन्टरनेशनल रहेको छ । २ सय २३ पृष्ठ लामो पुस्तकको मूल्य ३ सय ५० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्