Logo

शिव श्रेष्ठको फिल्ममा बर्षा र संजोगको जोडी देखिदै


कलाखवर संम्वादाता,पौष २७- नेपाली चलचित्रका चर्चित नायक शिव श्रेष्ठ अब एक चलचित्रको प्रस्तुतकर्ताको रुपमा अगाडि आउने भएका छन् । उनले लामो समयदेखि चलचित्र ‘खुकुरी’ बनाउने चर्चा चलेपनि त्यो चलचित्र अहिलेसम्म बन्न सकेन । तर, शिव श्रेष्ठको प्रस्तुतीमा चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ बन्ने पक्का भएको छ । अहिले यो चलचित्रको धमाधम प्रि प्रोडक्शनको काम भैरहेको छ ।

यो चलचित्रमा नायक शिव श्रेष्ठको विशेष एक्सन देख्न पाइनेछ । चलचित्रमा प्रेम जीवनमा रमाइरहेका जोडी संजोग कोइराला र बर्षा राउतलाई दर्शकले पर्दामा देख्न पाउनेछन् । यो चलचित्रमा बर्षा र संजोगलाई प्रेम जोडीको रुपमा देखाउन लागिएको निर्देशक दीपेश सापकोटाले जानकारी दिए दीपेशले अनलाइनखबरसँग भने ‘यो महिला केन्द्रित चलचित्र हो । जसमा दर्शकले शिव श्रेष्ठको एक्सन अवतार देख्न पाउनुहुनेछ । बर्षाजी र संजोगजीलाई दर्शकले रोमान्टिक अवतारमा देख्न पाउनुहुनेछ ।’

चलचित्रमा ‘बागमती’का निर्माता दिनेश दर्शनधारी र यशोदा राइको लगानी रहनेछ । नायिका बर्षा राउतले पनि चलचित्रमा काम गर्न लागेको पुष्टी गरिन् । अष्ट्रेलियामा रहेकी बर्षाले भनिन ‘हो, म चलचित्रमा काम गर्दैछु । तर, यो चलचित्रका लागि शरीर घटाउन म अष्ट्रेलिया आएकी भने होइनँ । चलचित्र महिला केन्द्रित छ ।’ बर्षाले यसपछि काम गर्न लागेको अर्को चलचित्रका लागि आफूले तौल घटाइरहेको बताइन् ।बर्षा अष्ट्रेलियाबाट नेपाल आउन अझै डेढ महिना लाग्नेछ । चलचित्रमा बसन्त सापकोटाले संगीत भरेका छन् । चलचित्रमा नरेन खड्का पनि देखिदैछन् ।

प्रतिक्रिया दिनुहोस्